प्रधानमन्त्री देउवा आज भारत जाँदै, दिउँसो १ः२५ बजे नयाँदिल्ली जाने, यस्तो छ भ्रमण तालिका ।
शुक्रबार, चैत १८, २०७८
भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँदिल्ली प्रस्थान गर्दैछन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत जान लागेका छन् ।
देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ। नेपाली टोली सोही एयरलाइन्सबाट चैत २० गते साँझ ६ः१०मा स्वदेश फिर्ता हुने कार्यक्रम छ।
प्रधानमन्त्री देउवाले आजै अपराह्न भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ। शनिबार बिहान ११ः१० बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ।
प्रधानमनत्रीहरुबीचको भेट हैदरावाद हाउसमा तय भएको छ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारतको द्विपक्षीय बैठक बस्ने र दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणासहित परराष्ट्रमन्त्री नारायण खड्का, उर्जामन्त्री, स्वास्थ्यमन्त्री, कृषिमन्त्री, सचिवहरु तथा पदाधिकारीसहित ५० जना सहभागी रहनेछन्।
शनिबार नै दुई देशका प्रधनमन्त्रीले जयनगर–कुर्था रेलको समेत उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आइतबार बिहान उत्तर प्रदेशको वाराणासी पुग्ने छन्।