१८ चैत, काठमाडौं । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् ।
आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको भनाईछ । महाँसंघका अनुसार निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोडरअनलोड रोकेका छन ।
महासंघको आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब १ हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको दैनिक आपुर्ति प्रभावित भएको छ । व्यावसायीको अवरोध कायमै रहे देशभर पेट्रोलियम पदार्थको अभाव हुनसक्नेछ ।
पेट्रोल तथा डिजेलको दैनिक चार सय ट्यांकर लोडरअनलोड हुने निगमको अमलेखगञ्ज डिपोमा व्यवसायीले इन्धन नउठाउने जानकारी गराएका छन् । ढुवानी अवरोधको प्रभाव सहितको विवरण १० बजेपछि मात्रै थाहा हुने निगमका अमलेखगञ्ज डिपोले जानकारी दिएका हुन ।
निगमकाअनुसार नेपाली सेना, साझा र साल्ट ट्रेडिङबाट हुने ढुवानी भने नियमित छ । काठमाडौंमा इन्धन आपूर्ति गर्ने निगमको थानकोट डिपोकाअनुसार बिहीबार साँझसम्म १३ लाख लिटर डिजेल र ११ लाख लिटर पेट्रोल पम्पहरुले उठाएका छन् ।