चैत १८, २०७८
सप्तरी। मधेश प्रदेशका धेरै पेट्रोल पम्पले पेट्रोलियम पदार्थ बिक्री गर्न बन्द गरेका छन् । शनिबारबाट पूर्ण रुपमा वितरण नहुने आह्वान गरिएका कारण खुला भएका कतिपय पम्पमा उपभोक्ता लामो लाइनमा बसेका छन् ।
खासगरी मधेश प्रदेशका विभिन्न पम्पमा तेल हाल्न घन्टौं पालोमा बस्नुपर्दा उपभोक्तालाई सास्ती भएको छ । नेपाल आयल निगमबाट उठाएको तेल आज बिहान वितरण गर्ने भनिएपछि केही पम्पमा उपभोक्ता बिहानैबाट लाइन लागेका थिए ।
पेट्रोलियम व्यवसायीको आन्दोलनका कारण मधेश प्रदेशका धेरै जिल्लामा तीन दुईदिनयता तेल बिक्री अनियमित बनेको हो । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको तर व्यवसायीको कमिसनको माग भने सम्बोधन नगरेको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।
तेल बिक्री बन्द हुने भन्ने जानकारी पाएका उपभोक्ता र सर्वसाधारण मोटरसाइकसहित ग्यालेन र बोतल बोकेर पम्प धाउन थालेका छन् । तर, सबैले तेल पाउने सम्भावना भने कम छ । राजविराजको एक पम्पमा तेल लिन पुगेका रंजित यादवले भने, “तेल सकिएर आधा बाटोमै वाइक राखी ग्यालेन लिएर गएको थिएँ । दुई घण्टा लाइन बसेर बल्लबल्ल तेल पाएँ ।”
व्यवसायीको आन्दोलनले गर्दा पम्पमा पेट्रोल अभावको कारण कालोबजारी समेत बडेको छ । १ सय ५५ पर्ने पेट्रोला बोतलमा पसलबालाहरुले ३ सय सम्म लिएर सप्तरीको विभिन्न स्थानहरुमा विक्रि भईरहेको उपभोक्ता बताउँछन् ।
व्यवसायीले सार्वजनिक यातायातदेखि अन्य क्षेत्रमा पनि मूल्य समायोजन भएको तर इन्धन ढुवानी गर्दै आएका व्यवसायी भने अझै पनि पुरानै रेटमा काम गर्नु परेको बताएका छन् ।