चैत १८, २०७८ धनुषा ।
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी भइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ।
नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो। खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेका छन्। आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ।
शनिबार रेल गाडीमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागकाले जानकारी गराएका छन् । अन्तरदेशीय रेल सेवाका रुपमा सञ्चालन हुने रेलमार्गमा जकनकपुर आएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतका व्यक्ति कुर्थासम्म जाने कार्यक्रम छ।
शनिबार उद्घाटन भएपछि आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए। उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) ल्याइएको थियो। एउटा रेलमा एक हजार ३ सय ५० यात्रु यात्रा गर्न सक्ने महाप्रबन्धक झाले जानकारी दिए। अहिले सञ्चालन हुन लागेको कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण दुई वर्ष पहिले नै सकिएको थियो।
हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ। कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने विभागले जानकारी दिए।
३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेको थियो। रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनीयर रहेको महाप्रबन्धक झाले जानकारी दिए।