राजविराज। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी मनोनयन पत्र दर्ता गराउन सोमबार अन्तिम दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपुर्वक मनोनयन पत्र दर्ता गराएका छन् । सप्तरी सदरमुकाम राजविराजमा सबै राजनीतिक दलले आ–आफ्नो दलबाट मनोनयन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन ।
राजविराज नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट मो.इरसाद अन्सारी र उप–मेयरमा शुशिला यादवले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट मेयरमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविणले मनोनयन दर्ता गराए । राजपाबाट पूर्व मेयर शम्भु यादव भने यस पटक नेकपा माओवादी केन्द्रमा प्रवेश गरी पुनः मेरयमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा प्रमिला साहको मनोनयन परेको छ ।
जनमत पार्टीले पनि पहिलो पटक राजविराज नगरपालिकामा आफ्नो उम्मेदवारी दिएको छ । जपाबाट मेयरमा ममता झा र उपमेयरमा साधना दासको मनोनयन दर्ता भएको छ । मेयर तथा उपमेयर दुबै पदमा महिला उम्मेदवार प्रस्तुत गर्ने जनमत जिल्लामा मै पहिलो पार्टी बनेको छ । यस्तै नेकपा एमालेको तर्फबाट मेयर पदमा अनिल झा र उपमेयर पदमा सशिला कुमारी देवले मनोनयन दर्ता गरेका छन् ।
नेकपा एकिकृत समाजवादीको तर्फबाट मेयर पदमा नथुनी दास र उपमेयर पदमा ममता चौधरीले मनोनयन दर्ता गराएका छन । यस्तै जनता प्रगतिशील पार्टीबाट मेयरमा अशोक साह र उपमेयरमा रञ्जु यादवको मनोनयन दर्ता भएको छ । राजविराज नगरपालिकाको मेयर र उपमेयर पदका लागी राप्रपा र लोसपाका उम्मेदवारले अघिल्लो दिन नै मनोनयन दर्ता गराएका थिए ।
मुख्य निर्वाचन कार्यलयका अनुसार लोसपाबाट मेयर पदमा दिपेन्द्र चौधरी, उपमेयरमा साधना झा तथा राप्रपाबाट मेयर पदमा उमेश प्रसाद साह र उपमेयरमा सरिता झाको मनोनयन दर्ता भएको छ ।