कांग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावीसभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बहिस्कार गर्दै आएको छ । ५ दलिय गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा भव्यताका साथ सम्पन्न गरिसक्यो । यी ३ ठाउँकै चुनावीसभालाई जसपाका दुई नेताले भने बहिस्कार गरेका छन् ।
जसपाका दोस्रो तहका नेताहरूलाई भने चुनावीसभामा पठाउने गरेका छन् । जबकि, कांग्रेस सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै चुनावी सभामा सम्बोधन गर्न खटिरहेका छन् ।
गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन शिर्षतहका नेताहरुले नै अपिल गरिरहेका छन् । तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगइ गृहजिल्लामा खटिएका छन् । उक्त पार्टीका एक नेताहरुले यसबारे अनविज्ञ रहेको बताउँछन् ।
शुक्रबार डा.भट्टराईले तालमेलबारे असन्तुष्टि जनाएका थिए । ‘पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ’, भट्टराईको असन्तुष्टि ट्वीटर मार्फत पोखेकोे थियो । पार्टी अध्यक्ष यादव पनि असन्तुष्ट भएरै संयुक्त चुनावीमा सभालाई सम्बोधन गर्नेभन्दा पनि मोरङ पुगेर छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् ।
अमरेन्द्र विराटनगर महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार हुन् । त्यहाँ पनि गठबन्धनमा समस्या छ । माओवादीकी नमिता न्यौपाने बागी उम्मेदवार बनेकी छिन् । यादवकै पार्टीका नेता उमेश यादव पनि बागी उम्मेदवार छन् । उनीहरू लाल्टिन चिह्नसहित निर्वाचन अभियानमा छन् । गठबन्धन दलहरूबीच तालमेल व्यावहारिक रूपमा राम्रो नभएपछि असन्तुष्ट मात्रै नभए संयुक्त चुनवाी सभालाई नै बहिस्कार गरेर यादव मोरङमा क्रियाशील भएका हुन् ।