नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जिते फेरी संसद भङ्ग हुन सक्ने बताएका छन् ।
धनगढीमा गरेको पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधि सभा मात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताए ।
उनले अघिल्लो पटक पनि प्रनिनिधिसभा विघटन गरेरपछि आफूहरुले पुनःस्थापना गरेको बताए । ‘ओलीले दुई पटक संसद भङ्ग गरे। हामीले अदालतबाट फिर्ता ल्यायौं ।
तर पनि एमालेले चल्न दिएको छैन। एमालेलाई जिताएर के गर्ने ? संसद भङ्ग गर्न दिने ? उनले प्रश्न गरे । उनले एमालेमा ओलीभन्दा अर्को नेता नभएकोसमेत बताए । अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको देउवाको भनाइ छ ।
उनले भने, ‘सबै ठाउँबाट ल्याएर हामीले गठबन्धनको सरकार बनाएका छौं । यो सरकार बलियो बनाउन पनि गठबन्धन बलियो बनाउनु पर्छ ।’ उनले कैलारी र जोशीपुरमा समस्या रहेको संकेत गर्दै बागी उम्मेदवारहरूलाई वक्तव्य जारी गरेर भए पनि फिर्ता लिन आग्रह गरेका थिए ।