आज र भोलि नयाँ मतदाताहरूले मतदाता परिचयपत्र पाउने छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम पनि रहेको छ । बढी भन्दाबढी मतदातालाई मतदान सम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमबाट विभिन्न जानकारी मूलक सन्देश प्रसारण समेत भईरहेको आयोगको भनाई छ ।
शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको आयोगले जनाएको छ । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ ।
यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ ।