पालिका चुनावका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न शुत्रवार ३० गते हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएका हुन् ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान समेत गर्नुभएको छ । साथै कसैको डर, धम्की नमानी निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आयोगले आग्रह समेत गरेका छन् ।
शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउन पनि आयोगले सबै पक्षलाई अपिल गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ । आयोगका अनुसार बालिग मताधिकारको आधारमा संविधानले सबै नागरिकलाई चुनावमा सहभागी हुने अधिकार दिएको छ ।
यसपालीको चुनावमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् । पालिका चुनावमा विभिन्न राजनीतिक दलका गरी तीन सय ५५ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जनाएको छ ।
पालिका चुनावमा ५५ हजार ६ सय ९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जनाएको छ ।