राजविराज । सप्तरीको डाक्नेश्वर नगरपालिकास्थित मतदानस्थल तोडफोडका साथै मतदान अधिकृतमाथि आक्रमण भएको छ। वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलका मतदान अधिकृत विपिन यादवमाथि आक्रमण भएको छ।
घाईते यादवको राजविराजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। मतदानको क्रममा एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृतमाथि आक्रमण र तोडफोड गरेको सप्तरीका एसपी आदि नारायण काफ्लेले जनाएको छ ।
उनका अनुसार ती समूहले मतपेटीका तोडफोडका साथै केही मतपत्र समेत छरपस्ट पारिदिएका थिए । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटना अघि २ हजारभन्दा बढी मत खसिसकेको थियो भने घटनापछि मतदान स्थगित भएको छ।
अपडेट
मतपेटिका तोडफोड र मतदान अधिकृतमाथि कुटपिट भएपछि स्थगित हुन पुगेको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा पुनः मतदान हुनेछ ।
मतदान स्थगित भएपछि बसेको सर्वदलिय बैठकबाट जेठ १ गते पुनः मतदान गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् ।