राजविराज । सप्तरीको डाकेश्वरी नगरपालिका २ मा रहेको जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको मतदान आज शुक्रवारका लागि स्थगित भएका छन् ।
मतदान गर्ने क्रममा विवाद उत्पन्न भइ स्थानीयवासीले मतदान अधिकृत विपीन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत तोडफोड गरेकाले मतदान स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
सहायक मतदान र निर्वाचन अधिकृतले राजनीतिक दललाई बोलाइ पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णय अनुसार मतदान स्थगित गरिएको हो ।
मतदानमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छा विपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको छ । निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसम्मति निर्णय भएको छ ।
निर्णयमा एमाले, कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए । विवाद हुँदा ‘क’ केन्द्रमा एक सय ३६ मत र ‘ख’ केन्द्रमा एक सय ६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो ।
कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । पत्रपत्रिका