सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.–५ लोखरम भटोत्तरमा आज बिहान आगलागी हुँदा ६ वटा घर जलेर लाखौंको क्षति भएको छ ।
आगलागीका कारण स्थानीय महेन्द्र कामैत, शङ्कर कामैत, शत्रुघ्न कामैत र भरत कामैतको घरमा पूर्णरुपमा क्षति भएको छ।
आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घरसमेत भत्काउनुपरेको छिन्नमस्ता गाउँपालिका वडा न.–५ का वडाध्यक्ष जयप्रकाश ठाकुरले बताए ।
उनका अनुसार गुहाली घरबाट सल्केको आगो बिहान ३ बजे महेन्द्रले थाहा पाएर गुहार मागेपछि करिब तीन घण्टाको प्रयासमा स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।
चौपायालाई लामखुट्टेबाट जोगाउन बालिएको घुरबाट आगो सल्किएको महेन्द्रले बताए । आगलागीबाट मानवीय क्षति नभए पनि दुई खसी र दुई बाख्रा जलेर मरेका छन् ।
आगलागीका कारण ती परिवारको घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा अन्दाजि २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता अागलागि भएको स्थानमा बारुणयन्त्र पुग्ने बाटो नभएकाले बढी क्षति भएको भरत कामैतले बताएका छन । यसेबिच अग्निपिडित परिवारलाई साेहि वडाका निर्वतमान वडाअध्यक्ष शिव शङ्कर पण्डितले राहत स्वरुप , चुरा ,भुजा , तेल ,चामल ,नुन लगायतका सामग्रिहरु तत्कालै वितरण गरेका छन ।