सप्तरी । आगो लगाएर भाउजुको हत्या गरी फरार रहेका देवर झन्डै ५ महिना पछि पक्राउ परेका छन् ।
घरायसी विवादमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न. ९ धनगढी टोलकी २७ बर्षीया राजकुमारी साहलाई पेट्रोल छर्कि आगो लगाई हत्या गरी फरार रहेका उनकै सहोदर देवर २५ बर्षीय प्रमेश्वर साह पक्राउ परेका हुन् ।
उनी घरमै लुकी बसेको गोप्य सूचना आएपछि ईलाका प्रहरी कार्यालय बोदेबर्साइनका प्रहरी नायव निरीक्षक सुरेश पालको कमान्डमा पुगेको प्रहरी टोलीले गएराती उनलाई पक्राउ गरेका थिए ।
प्रहरीका अनुसार आफू विरुद्घ दाजु रबिनलाई उक्साएको निहुँमा प्रमेश्वरले गत माघ २१ गते भाउजु राजकुमारीलाई पेट्रोल छर्कि आगो लगाएका थिए ।
राजकुमारीको घटनाको २ दिन पछि उपचारको क्रममा मृत्यु भएपछि प्रमेश्वर फरार भएका थिए ।
यता पक्राउ परेका प्रमेश्वरलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।