काठमाडौं । निर्वाचन आयोगले आज (बुधवार)देखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएका हुन ।
आयोगले एक विज्ञप्ति जारी गर्दै फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएका छन् ।
आयोगले ‘वेबबेस्ड भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) २९ गतेबाट सेवा संचालनमा ल्याउने जनाएको छ ।
फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेश गर्न सक्नेछन् ।
सो पश्चात् अनलाईन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठाछाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगको भनाई छ ।