काठमाडौं । निर्वाचन आयोगले आज(शुक्रवार)बाट मतदाता नामावली संकलन स्थगित गरेको छ ।
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो ।
निर्वाचनको मिति घोषणा भएकाले मतदाता नामावली संकलनको काम स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलि (साउन २० र २१ गते)सम्म समय दिइएको छ ।
मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।