काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच आगामी निर्वाचनसम्मै चुनावी तालमेल गरेर जाने सहमति भएको छ।
शुक्रबार बसेको गठबन्धनका पाँच दलको बैठकले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
सिट बाँडफाँडको विषयमा भने बैठकले कुनै ठोष निर्णय गर्न सकेन। सरकारले बिहीबार प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा आगामी मंसिर ४ गते गर्ने घोषणा गरिसकेको छ।
स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।