कैलाली । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष हुन् ।
उनले कैलाली स्थित लम्कीचुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह ९गरिमा०ले १३ हजार ४०६ मत र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।
‘अघिल्लो पटक नागरिकले भारी मतले उहाँलाई विजयी गराउनु भएको थियो तर, उहाँलाई झुटो मुद्धामा फसाएर नागरिकहरूको काम गर्न दिइएन अब नागरिकहरूको अपेक्षा म पुरा गर्नेछु’ उनले उम्मेदवारी घोषणा पछि नेपाल प्रेसलाई भनिन्, ‘यहाँका नागरिकहरूको सल्लाह सुझाव पछि मैले कैलाली क्षेत्र नम्बर १ रोज्ने निर्णय गरेकी हुँ ।’
रन्जिता चौधरीको कैलाली क्षेत्र नम्बर १ सँगै कैलाली ५, कञ्चनपुर १ र बर्दिया २ को पनि चर्चा चलिरहेको थियो । तर, उनले आज कैलाली १ बाट निर्वाचनमा होमिने घोषणा गरेकी हुन् ।
यस्तो छ नागरिक उन्मुक्तिको अवस्था
२०७४ मा राजपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रेशम चौधरीले मात्रै जितेनन् क्षेत्र नम्बर १ ९क० मा पनि राजपाका उम्मेदवार विजयी भएका थिए । १२ हजार १८४ मतसहित प्रदेशसभामा राजपाका कृष्ण चौधरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका थिए ।
त्यसैमाथि स्थानीय तहको निर्वाचनले नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरू कैलाली क्षेत्र नम्बर १ मा हौसिएका छन् ।
कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा पालिका प्रमुख र तीन वटा पालिका उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए ।
नागरिक उन्मुक्ति पार्टीले जितेका सबैजसो पालिका रेशम चौधरीको निर्वाचन क्षेत्रमा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर, जोशीपुर, जानकी र भाजनी ९केही क्षेत्र० को प्रमुखमा नागरिक उन्मुक्तिले बाजी मारेको हो । टीकापुरबाहेकका अन्य तीन पालिका उपप्रमुख पनि नागरिक उन्मुक्तिले जितेको छ ।
२०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सबैभन्दा बलियो नागरिक उन्मुक्ति नै रहेको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाएका थिए । एमाले उम्मेदवारले १० हजार ३२२ मत पाउँदा माओवादीले ६ हजार ९३० मत पाएको देखिएको छ ।
त्यस्तै राप्रपाले ३ हजार ५६१ मत, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत हो । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव मदनकुमारी शाह गरिमा पनि यसै क्षेत्रकी हुन् । तर, यहाँ नेकपा एकीकृत समाजवादी कमजोर छ ।
२०७४ सालको मत परिणाम र वैशाख ३० गतेको परिणामले यहाँ सबै मिल्दा पनि नागरिक उन्मुक्ति बलियो रहेको त्यसका प्रवक्ता दामोदर पण्डित बताउँछन् ।
नेपालप्रेसबाट ।