काठमाडौं । नेकपा एमालेले धनुषा छाड्न नमानेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका छन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।
उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले भने, ‘हालसम्म पनि धनुषा–३ कै लागि हामीले प्रयास गरिरहेका छौं तर केपी शर्मा ओली सो क्षेत्रका लागि अडानमा बस्नुभएको छ, यदि मान्दै मान्नुभएन भने राजेन्द्रजी सर्लाही–२ बाट चुनाव लड्नु हुन्छ ।’
एमाले अध्यक्ष ओलीले सो क्षेत्रको दावी नछाड्नुको अर्को पनि कारण छ । केही दिनअघि ओली काँग्रेसका नेता सन्तोष यादवलाई प्रवेश गराउन जनकपुर गएका थिए । त्यसबेला नेतृ जुली महतोले धनुषा–३ मा चुनाव लड्न अडान राखिन् । जुलीले राजेन्द्र महतोका लागि नछाड्ने घोषणा गरेपछि ओली उक्त निष्कर्षमा पुगेका हुन् ।
सर्लाही–२ मा यसअघि तत्कालीन राजपाबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए । यादव अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा सक्रिय छन् । आगामी चुनावमा उनी पाँचदलीय गठबन्धनबाट त्यहाँ चुनाव लड्ने सम्भावना छ । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिँदैछ ।
२०७० को संविधानसभा चुनावमा नेता महतोले महेन्द्र राय यादवसँग चुनाव हारेका थिए । यसपाली पुनः २ जनाबीच टक्कर हुने देखिएको छ । नेता महतो लोसपा–एमाले गठबन्धनबाट चुनाव लड्ने सम्भावना देखिएको छ । एमालेसँग गठबन्धन गर्नका लागि लोसपाले तीन दिनदेखि वार्ता गरिरहेको छ । दुई दल बीचमा आज पनि वार्ता हुँदैछ ।
सर्लाही नेता महतोको गृहजिल्ला हो । गत चुनावमा उनी सर्लाही छाडेर धनुषाबाट चुनाव लडेका थिए । यसपटक उनी गृहजिल्ला फर्केका हुन् ।
स्रोत ः रातोपाटी