सप्तरी। कंचनरुप नगरपालिका १२ स्थित धरमपुरमा शनिबार नेकपा एमालेले विशाल आमसभा आयोजना गर्ने तयारी गरेका छन ।
एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल सप्तरीद्वारा धरमपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आमसभामा ५० हजार जनता उतार्ने गरी तयारी गरिएको जनाएको हो ।
राष्ट्रिय यूवा संघ नेपाल मधेश प्रदेश समितिको आयोजना हुने मधेश प्रदेशस्तरीय चुनावी यूवा दस्ता घोषणा तथा आमसभालाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको यूवा संघ नेपालका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इञ्चार्ज मनिष श्रेष्ठले जानकारी दिए । उनले एक बुथ २० युथ घोषणा तथा आमसभाको सम्पूर्ण तयारी सकिएको पत्रकार सम्मेलनमा बताए ।
मेची–माहाकाली यात्रापछि अध्यक्ष ओली सप्तरीमा पहिलो पटक आउँदै हुनुहुन्छ, श्रेष्ठले भने, अध्यक्षबाट आमसभालाई सम्बोधन गर्ने कार्यक्रम भएको हुँदा सुरक्षाका लागि तीन सय भन्दा बढी यूवा स्वयंसेवक परिचालन गरिएको छ र सुरक्षाको कुनै समस्या पनि छैन । अध्यक्ष ओली हेलिकप्टर ल्याड गरेर शनिबार मध्यान्ह १२ बजे कार्यक्रम स्थलमा आउने आयोजकले जनाएको हो ।
जनसभालाई सम्बोधन गर्न एमाले नेता महेश बस्नेत, लिलानाथ श्रेष्ठ, प्रभु साह, किरण बस्नेत लगायतका केन्द्रिय नेताहरु सप्तरी आउने कार्यक्रम रहेको राष्ट्रिय यूवा संघ नेपाल सप्तरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सहईन्चार्ज राज कुमार लेखीले धरमपुरमा हुने आमसभाले एमाले प्रतिको जनआकर्षण बढेको संदेश प्रवाह गर्ने उल्लेख गरे । उनले आमसभामा ५० हजार जनता उतार्ने दाबी गरे ।
कार्यक्रममा स्थानीय आदिवासी जनजाति समुदायको झाँकी प्रदर्शन तथा बिभिन्न जातीय संगठनको पहिचानमा आधारित चर्चित कलाकारहरुद्वारा १ दर्जन बढि गित, संगित र नृत्य प्रस्तुत हुने जानकारी दिए ।
सो अवसरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा लगायतका बिभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा एमालेमा प्रवेश गर्ने र सोही कार्यक्रममा उनीहरुलाई जिम्मेवारी प्रदान गरिने नेता लेखीले बताए । उक्त अवसरमा महत्वपूर्ण व्यक्तिहरुलाई अभिनन्दन तथा हजारौं संख्यामा कलश यात्रा गरिने उनले जानकारी दिए ।