काठमाडौं । ई(सेवाको एप शुक्रबार अपरान्ह ५ बजेदेखि प्ले स्टोरबाट गायब भएको छ । नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकको एप यसरी प्ले स्टोरबाट गायब हुँदा धेरैको ध्यान यसले केन्द्रित गरेको छ । हुन त यो त्यति ठूलो समस्या भने होइन ।
यसअघि खल्ती, आईएमई पे लगायतका एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थियो । तर, पनि बजारमा सुरक्षा कमजोरीका कारण एप प्ले स्टोरबाट हटेको भन्ने विषयहरु बाहिरिएका छन् ।
साथै एप असुरक्षित रहेको भन्दै पैसाको कारोबार गर्न नुहुने खालका कुरा सामाजिक सञ्जालमा देखिएको छन् । यस्तोमा यसको यथार्थ के हो भन्ने विषयमा हामीले कम्पनीका प्रतिनिधिबाट बुझ्ने प्रयास गरेका छौं ।
कम्पनीका प्रतिनिधिले सुरक्षा कमजोरीका कारण एप प्ले स्टोरबाट नहटेको बताए । ‘हामीले गुगलको टिमसँग निरन्तर कुरा गरिरहेका छौं,’ ई–सेवाका प्रतिनिधिले टेकपानासँग भने, ‘एपको पार्टमा कुनै समस्या छैन । बजारमा सुरक्षाको कारण प्ले स्टोरबाट ई–सेवा हटेको कुरा आएको छ । त्यो पूर्ण रुपमा गलत हो ।’
उनले अघि भने, ‘प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको ई–सेवा एप सुरक्षित रुपमा प्रयोग गर्न सक्नुहुनेछ । साथै ईसेवाको वेबसाइटमा गएर एप डाउनलोड समेत गर्न सक्नुहुनेछ । हाल देखिएको समस्या भनेको ई–सेवा एपलाई गुगलले पूर्ण रुपमा जाँच गर्न नपाउँदा आएको हो । कुनै पनि एप प्ले स्टोरमा सब्मिट गरेपश्चात् गुगलले त्यसको जाँच गर्छ । त्यसरी जाँच गर्दा उसको एउटा नीति उल्लंघन भयो भन्दै आएको थियो । हामी उसलाई उसको कुनै पनि नीति उल्लंघन नभएको र आवश्यक जाँचका लागि बाटो देखाउँदै आएका थियौं । तर, एक्कासी शुक्रबार साँझबाट एप प्ले स्टोरबाट हट्यो ु
त्योसँगै गुगललाई आवश्यक सम्पूर्ण डकुमेन्ट उपलब्ध गराइसकेको ती प्रतिनिधिले बताए । ुगुगलले हामीले दिएको डकुमेन्टमा रिभ्यु गरिरहेको छ । सायद चाँडै नै एप प्ले स्टोरमा उपलब्ध हुनेछ,’ उनले भने ।
स्रोतःटेकपाना