सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ को राजविराजमा सत्ता गठबन्धनले बुधबार र्याली निकालेको छ । गठबन्धनका तर्फबाट यस क्षेत्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर, प्रदेशसभाअन्तर्गत २(१)का उम्मेदवार लोसपाकै सरोजकुमार मण्डल र २(२) बाट माओवादीका उमेशकुमार यादवको अगुवाइमा र्याली निकालिएको हो ।
पबिमावि अगाडिबाट निस्किएको र्यालीले राजविराज बजार क्षेत्रको परिक्रमा गरेको थियो । र्यालीमा सहभागी उम्मेदवार र समर्थकहरुले सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र दुईवटै प्रदेश सभामा आफूहरुको उम्मेदवार जित्ने दाबी गरे ।
र्यालीमा सत्ता गठबन्धनका घटक दलहरु नेपाली कांग्रेस, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरुको सहभागिता थियो । निर्वाचन क्षेत्रका ग्रामीण क्षेत्रहरुबाट समेत सत्ता गठबन्धनका कार्यकर्ताहरु बुधबार राजविराज ओइरिएका थिए ।
सप्तरी २ बाटै जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत पनि चुनावी मैदानमा छन् ।