सप्तरी । छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको तीन दिवसीय निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । आज तेश्रो दिन छिन्नमस्ता—६ कोचाबखारीको स्वास्थ्य शाखामा शिविर सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क आँखा शिविरबाट भण्डै २ हजार आँखाको विरामीले लाभ लिएका छन् ।
शिविरमा नोवेल शिक्षण अस्पताल बिराटनगरका बरिष्ठ डा. रमेश विक्रम केसीको नेतृत्वमा आँखाको विरामीहरुलाई सेवा प्रदान गरेका थिए । सो शिविरमा पहिलो दिन ७ सय २०, दोस्रो दिन ४ सय ८५ र तस्रो दिन ५ सय १० जनालाई चेक जाँच गर्दा ४० जनाभन्दा बढीलाई मोतियाबिन्द फेला परेको थियो ।
मोतियाविन्द फेला परेका विरामीहरुलाई अप्रेसन गर्न आफ्नो पूर्जा लिएर नोवेल अस्पताल आएमा उपचारमा लाग्ने खर्चमा सुविधा समेत दिने आयोजकले बताएकाछन् । शिविरमा विरामीहरुलाई निःशुल्क औषधि र ३ सय भन्दाबढी जनालाई चश्मा समेत उपब्लध गराइएको जनस्वास्थ्य निरिक्षक पंकज कुमार यादवले जानकारी दिए ।
शिविरबाट आँखाको उपचार गराएका विरामीहरुका अनुसार गाउँपालिकाले समय समयमा यस्तै स्वास्थ्य शिविरहरु संचालन गरिदिएमा दुरदराजका अस्पतालहरुमा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।
तिन दिवसीय शिविर सफलता पूर्वक समाप्त भएको अवसरमा छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले डाक्टरहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष चौधरी, उपाध्यक्ष राजु देवी यादव, वडा नम्बर ६ का वडा अध्यक्ष कपिलेश्वर साह, स्वास्थ्य संयोजक मदनेश्वर प्रसाद चाौधरी, सह–संयोजक दिपेन्द्र प्रसाद यादव, जनस्वास्थ्य निरिक्षक पंकज कुमार यादव, माओवादी केन्द्रका गाउँपालिका संयोजक तेज नारायण यादव लगायतको उपस्थति रहेको थियो ।