सप्तरी । आजभोलि मोवाइल, ल्यापटप, कम्प्युटर, टेलिभिजनसँग हामी एकाकार भइरहेका छौं । अर्कोतिर धुलोधूँवाको चपेटामा परिरहेका छौं । यसको अनेकन साइड इफेक्ट छन् । त्यसमध्ये पनि आँखामा यसको सोझो असर परिरहेको छ ।
तपाईं÷हामीलाई थाहा छ, आँखा अति संवेदनशिल अंग हो । जब आँखाको दृष्टि गुम्छ, संसार अध्याँरो हुन्छ । हाम्रो दिनचर्या पुरै प्रभावित हुन्छ । आँखामा आउने सानो समस्याले पनि विकराल रुप लिन सक्छ । त्यसैले यसको उचित स्याहार जरुरी हुन्छ । चोटपटक लागेर मात्र नभई अन्य विभिन्न कारण आँखा खराव हुन्छ । आँखामा कसरी खराबी आउँछ ? त्यसका संकेतहरु के हुन् ? यस सम्बन्धमा हामीले आँखा रोग विशेषज्ञ रमेश विक्रम केसीँसँग प्रश्नोत्तर गरेका छौं ।
आँखामा समस्या निम्त्याउने मूल कारण के हो ?
विभिन्न रोग हुन्छन्, जसले आँखामा असर पुर्याउँछ । त्यसमध्ये मधुमेहको समस्याले आँखामा सबैभन्दा बढी असर पुर्याउँछ । मधुमेह हुँदा शरिरमा चिनीको मात्रा बढ्दै जान्छ । त्यो, आँखामा पनि पुग्छ ।
मधुमेहले कसरी आँखामा असर पुर्याउँछ ?
मधुमेहको कारणले हुने भनेको ‘मेटावोलिक डिजिज’ हो । यस्तो डिजिजले आँखाको लेन्समा असर पार्छ । जसले गर्दा मोतिविन्दु हुन जान्छ । खासगरी आँखामा आफ्नै लिमिटमा मेटावोलिजम चाहिन्छ । यसको मात्र अलिकति पनि बढी भयो भने डिसअर्डर हुन जान्छ । जसको कारण आँखा खराव हुने गर्छ ।
रमेश विक्रम केसीँ
जलविन्दुले कसरी आँखामा क्षति पुर्याउँछ ?
आँखामा विभिन्न नशाहरु हुन्छन् । त्यही नशाले नै आँखालाई सन्तुलन राख्ने काम गर्छ । त्यस्ता नशामा पानीको मात्रा तलमाथि भयो भने जलविन्दु हुन जान्छ । जलविन्दु नशाको समस्या हो । फेरी जलविन्दुले आँखाको अप्टीकल नर्भलाई ड्यामेज गर्दै लैजान्छ ।
जसले गर्दा आँखामा अतिरिक्त चाप पर्छ । यस्तो अवस्थामा मानिस पूर्ण रुपमा अन्धो पनि हुन सक्छ । यसरी गुमेको ज्योतिको उपचार सम्भव छैन । त्यसैले जलविन्दु भएको अवस्थामै राम्रोसँग उपचार गर्न जरुरी हुन्छ ।
के कारणले आँखा रातो हुन्छ ? यो कति खतरनाक छ ?
बेला बेला आँखा रातो हुने समस्या हुन्छ । यसका धेरै कारणहरु छन् । घामको किरण, हावा, प्रदुषित वातावरण, आर्युवेद र केमिकलयुक्त ठाउँमा काम गर्दा आँखा रातो हुने गर्छ । यस्तो समस्यालाई वेवास्ता गर्दा आँखामा विभिन्न खालका इन्फेक्सन हुन्छ । जसले गर्दा आँखा दृष्टि कमजोर हुँदै जान्छ ।
अहिले कम्युटर, टेलिभिजन, मोवाइलको स्क्रिनले पनि आँखालाई क्षति पुर्याइरहेको छ ? यसले कसरी असर गर्छ ?
चलिरहेको कम्प्युटर, टिभिको स्क्रिनमा लगातार लामो समय हेर्दा पनि आँखासम्बन्धि विभिन्न समस्या आउँछन् । हेर्दा आँखामा पानीको मात्रा सुक्दै जान्छ । र, आँखा सुक्खा हुने गर्छ । जसले गर्दा आँखामा तनाव पैदा हुन्छ । अनि आँखा खराव हुँदै जान्छ ।
वातवरणीय प्रदूषण, खासगरी धुलो(धूँवाको असर कस्तो हुन्छ ?
आँखा खराव गर्ने अर्को कारण भनेको धुलो पनि हो । आँखामा आइलिडहरु हुन्छन्, जुन चलिरहन्छन् । र, धुलो त्यही आइलिडमा गएर बस्ने गर्छ । जसले आँखाको कर्नीयालाई ड्यामेज गर्ने काम गर्छ । धुलोको कारण आँखामा घर्षण पनि उत्पन्न हुन्छ । जसले आँखामा विभिन्न खालका व्याक्टेरियल, भाइरल इन्फेक्सहरु बनाउँछ । त्यसपछि एलर्जी हुन्छ र आँखा खराव हुँदै जान्छ ।
रमेश विक्रम केसीसँगको अन्तरवार्ता हेर्न यो तल लिंक राखिएको छ ।
https://fb.watch/hwTjLu4ba0/