राजविराज । सप्तरीसहित मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन,चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।
पुस महिना लागेसँगै दुई,चार दिन यता मधेश प्रदेशका आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको छ ।
चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् । राजमार्ग तथा सहायक राजमार्ग, सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको चालकहरुको भनाई छ ।
आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चिसोबाट बच्ने उपाय अपनाउन विभिन्न निकायले आग्रह गरेको छ । शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ ।
त्यस्तै चिसो बढेसँगै छिन्नमस्ता गाउँपालिकाले आज देखि गाउँपालिका भित्रका दलित, एकल, विधवा र ज्येष्ठ नागरिक तथा महिलाहरुलाई न्यानो ब्ल्याङकेट वितरण कार्य सुरु गरेको छ।
गाउँपालिको आयोजनामा सातै वडामा ब्लाईकेट वितरण गर्ने बताए । ब्लाईकेट वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, उपाध्यक्ष राजु देवी यादव, शसस्त्र प्रहरी, जनपद प्रहरी स्थानिय नेता, उगुवाको उपस्थिति रहेको थियो ।