मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलको नेता चयन गरिसके पनि जसपाले भने दलको नेता चयन गर्न सकेको छैन। दलको नेता चयनका लागि आज मतदान हुने गरी कार्यतालिका तय गरिएको छ।
जसपाले बिहान ११ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ। यस्तै, ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३ः३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबी विरोधका लागि समय निर्धारण गरिएको छ।
अपरान्ह ४ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ देखि ६ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। मतदान सम्पन्न भएलगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए।
जसपा मधेश प्रदेशसभाको संसदीय दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, सरोज यादव र नेता रामअशिष यादव प्रमुख दाबेदार छन्। राउतको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गर्न लागिएको हो। पार्टी अध्यक्ष उपेन्द्र यादवले दलको नेता चयन गर्न नसकेपछि सो विषयमा निर्णय गर्न पुनः प्रदेश कमिटीलाई नै जिम्मा लगाएका थिए।
गत बिहीबार र शुक्रबार जनकपुरधाममा बसेको प्रदेशसभा सदस्यहरूको बैठकमा दलको नेतामा सहमति नजुटेपछि सो अधिकार पार्टी अध्यक्ष यादवलाई दिइएको थियो। तर, पार्टीमा दलको नेता बन्न आकांक्षीहरु बढी भएपछि पार्टी अध्यक्ष यादवले फेरि पार्टीको प्रदेश कमिटीलाई नै जिम्मेवारी दिएका थिए।
मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीका १६ जना प्रदेशसभा सदस्य छन्।