सप्तरी । छिन्नमस्ता गाउँपालिका सखडामा रहेको छिन्नमस्ता साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष श्याम नारायण यादवको सभापतित्वमा सोमबार सम्पन्न भएको हो ।
गरिवि निवारणमा टेवा पुग्ने उद्देश्य भन्ने साथ २०६३ सालमा स्थानिय २ सय ४६ जना शेयर सदस्यको २ लाख ८ हजार ८ सय शेयरपुँजी बाट सुरु भएको सहकारीमा हाल १ हजार १ सय १५ जना शेयर सदस्यहरु रहेका छन् ।
संस्थाले आर्थिक बर्ष २०७८÷७९ मा ५ करोड ३९ लाख ९७ हजारको कारोबार गरेकाछन् भने सम्पूर्ण खर्च कटाए र १६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्याम नारायण यादवले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने मुख्य प्रबन्धक विरेन्द्र कुमार साहले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै संस्थाको आन्तरिक लेखा परिक्षण प्रतिबेदन लेखा समितिको संयोजक बलराम यादवले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट समुहलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शेयर सदस्य, अगुवा, नागरिक समाजको उपस्थिति रहेको थियो ।