राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रामपुरमा मृत भेटिएका ४५ वर्षीय रामदेव मरिक डोमको ऋण गाउँपालिका सदस्यले पाउने सरकारी तलब भत्ताबाट तिरिने भएको छ।
शनिबार बसेको गाउँपालिकाको बैठकले डोमको करिब तीन लाख रुपैयाँ गाउँपालिका सदस्यको तलब भत्ताबाट उठाएर तिर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए। चौधरीका अनुसार मृतक डोमका दुइ छोरा र एक छोरी छन्। जेठा छोरालाई उनको योग्यताअनुसार जागिर उपलब्ध गराउने गाउँपालिकाको निर्णय भएको चौधरीले जानकारी दिए ।
शनिबार गाउँपालिकाले डोमको किरिया खर्चबापत् ११ हजार नगद र विभिन्न खाद्य सामग्रीसमेत उपलब्ध गराएको चौधरीले बताए। गत माघ १० गते डोम घरनजिकै झुण्डिएको अवस्थामा फेला परेका थिए। हामीले बुझ्दा उहाँको बैंकमा डेढ लाख र छरछिमेकसँग करिब डेढ लाख रुपैयाँ ऋण रहेछु, अध्यक्ष चौधरीले भने,ऋणको तनावले पनि उहाँलाई मानसिक रुपमा विक्षिप्त बनाएको रहेछ। यसकारण मृतक डोमको पारिवारिक अवस्था हेरेर नै हामीले ऋण तिरिदिने निर्णय गरेका हौं।
पालिकाले आफ्ना क्षेत्रमा रहेका सबै वितीय संस्थाहरूलाई आइतबार बोलाई छलफल गर्ने कार्यक्रम पनि राखेको चौधरीले बताए। वित्तीय संस्थाले मानसिक तनाव दिने गरेको विषयमा भोलि हामी उनीहरूसँगै बसेर कुराकानी गर्छौु,उनले भने। पछिल्लो क्रममा बैंकको ऋण तिर्न नसकेर आत्महत्या गर्ने क्रम बढेपछि पालिकाले आफ्नो क्षेत्रका सबै घरधुरीको पारिवारिक र आर्थिक अवस्थाको डाटा संकलन सुरू गर्ने पनि चौधरीलेलाई जानकारी दिए।