काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सुरु भएको छ। केही बेरअगाडिबाट बन्द इजलासमा सुनुवाइ सुरु भएको हो।
गत शुक्रवारको सुनवाइ खुल्ला इजलासमा गरिएको थियो। आइतबार सन्दीप पक्षका वकिलहरूले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्नुपर्ने माग गरेका थिए। सोही अनुसार बन्द इजलासमा सुनुवाइ भएको हो।
महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर अग्राधिकार दिएको मुद्दाको सुनुवाइ न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजालासमा परेको छ।
मुद्दाको सुनुवाइमा आदेश आजै आउने सम्भावना रहेको छ।
सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्नेलगायत उच्च अदालतका सर्तहरूविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग(२ अन्तर्गत यूएइमा सोमबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।
त्यस्तै,महान्यायाधिवक्ताको कार्यलयले भने पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशविरुद्ध अदालतमा गएको हो। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो।
पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको थियो। सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ।
धरौटीमा छुटेयता उनले नेपाली टोलीबाट पुनरागमन गर्दै विश्वकप लिग(२ अन्तर्गत घरेलु सिरिजमा उनले शानदार प्रदर्शन गरेका थिए। उक्त सिरिजमा उनले सर्वाधिक १३ विकेट लिएका थिए।