राजविराज । सप्तरीको रुपनी गाउँपालिका–२ पिपराहीस्थित मंगलबार इँटाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ । भने दुई जना ईट्टामा च्यापिएर घाइते भएका छन् ।
पिपराहीस्थित रहेको जेएसआर इँटाभट्टाको पुर्वतर्फको पर्खाल भत्किदा त्यहाँ कार्यरत भारत पश्चिम बंगाल राज्यको कुच विहारका ४५ वर्षीय अजिम अजीमको मृत्यु भएको हो । पर्खाल भत्किँदा घाइते भएका अजिमलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चेकजाँचपछि चिकित्सकले अजिमलाई मृत घोषित गरेका छन् ।
त्यस्तै, पर्खाल भत्किँदा मृतक अजिमकी २७ वर्षीया श्रीमती मुजिना बिबी र सोही ठाउँका २५ वर्षीय जियारुल हक घाइते भएका छन् । दुवै जनाको उपचार गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।