सप्तरी । कञ्चनरुप नगरपालिका–३ दास टोलकी एक महिलाले करेन्ट लगाएर आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै घटनाको खुलासा गरेको हो । स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा पर्ने भाउजु शान्तिदेवी दासको सहयोगमा आफ्नै श्रीमान ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।
गत कात्तिक ६ गते आफ्नै घरभित्र शिवशंकरको हत्या भएको थियो । हत्यापछि कोशिलादेवीले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएपछि सोही क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको थियो । पाँच महिनाको अनुसन्धानपछि उनको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको पत्रकार सम्मेलन मार्फत प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए ।
प्रहरी अनुसन्धानमा उनिहरुले दिएको बयानका आधारमा ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको देखिन्छ’ नायव उपरीक्षक रायका अनुसार शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् । शिवशंकर र कोशिलादेवीले ऋण तिर्न नसक्ने भएपछि शान्तीदेवीले नै शिवशंकरको मृत्युबाट आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी समेत रहने भन्दै हत्याको योजना तयार पारेकी थिइन् । योजनाअनुसार शान्तीदेवीले कात्तिक ५ गते शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर मताएकी थिईन् ।मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको वयान दिएकी प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए । करेन्ट लगाउने कार्यमा देउरानी हिरनदेवीले उनलाई सहयोग गरेको थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।