सप्तरी । मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाद्वारा संयुक्त लगानी र सहकार्यमा मंगलबारदेखी राजविराज जनस्वास्थ्य प्रयोगशालाको संचालनमा आएकोछ । मंगलवार राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिन र जिल्ला न्यायाधिश हेमन्त रावलले एक समारोहबीच प्रयोगशालाको संयुक्त रुपमा उद्घाटन गरेर संचालनमा आएको छ ।
जेष्ठ नागरिकले ६ रुँपैया २५ पैसामा मात्र अन्यले २५ रुँपैयामै विभिन्न रोगको परिक्षण गर्न पाउने भएका छन् । प्रयोगशालामा जेष्ठ नागरिकका लागि सबै प्रकारका जाँचमा ७५ प्रतिशत छुट दिइने प्रयोगशालाकी इन्चार्ज नितु देवले जानकारी दिए । डेंगु, मलेरिया र एचआइभी एड्सको निशुल्क परिक्षण गरिनुका साथै विभिन्न ६२ प्रकारका रोगहरुको परिक्षण हुने उनको भनाईछ ।
प्रयोगशालामा न्युनतम २५ रुँपैयादेखी अधिकतम् ३ सय रुँपैयासम्म सर्वसाधारणका लागि शुल्क निर्धारण गरिएको छ । ग्यास्ट्रीक साइटिस, एचसायोलोरी, लिक्युड प्रोफाइल र आरएफटी जाँचको ३ सय रुँपैया शुल्क निर्धारण गरिएको तथा दिसा, पिसाब, आरबिसी, मधुमेह लगायतको जाँच २५ रुँपैयामा नै गरिने नगरपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज निरन्जन यादवले बताए । प्रयोगशालामा गरिब, असाहय तथा विपन्न समुदायका बिरामीलाई स्वास्थ्य जाँचमा सहुलियत पुग्ने विश्वास लिइएको छ ।