सप्तरी । राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको लापरवाहीका कारण अध्ययरत एक विद्यार्थीको शुक्रवार विहान करेन्ट लागेर मृत्यु भएको छ ।
कक्षा १० मा अध्ययरत जिल्लाको राजगढ गाउँपालिका–१ झुटकीका लक्ष्मणप्रसाद यादवको १४ वर्षीय छोरा पेशलानन्द यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार विद्यालयले नियमित रुपमा शुक्रबार आयोजना गर्दै आएको खेदकुद प्रतियोगिताको लागि पेशलानन्दलाई महेन्द्र विन्देश्वरी बहुमुखि क्यामसको खेलकुद ग्राउन्डमा स्पिकर बजाउनका लागि विद्युतको पोल माथि तार तान्ने क्रममा विद्यार्थीलाई करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको हो ।
पोल माथि तार तान्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । सोही क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेहुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले करेन्ट लागेर विद्यार्थीको मृत्यु भएको पुष्टि गरे । ‘घटनाबारे अनुसन्धान भइरहेको र घटनाबारे विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहसँग बुझ्न खोज्दा सम्पर्कमा नभएको बताए ।
यता मृत विद्यार्थीलाई न्यायका निम्ति आफन्त, विद्यार्थीहरुले विद्यालय अगाडि ठुंग्गामुडा तथा टायर बालि प्रदर्शन गरिरहका छन् ।