सिडिओ थापाले गल्ती भएको भन्दै माफी समेत मागेपछि महासंघको आन्दोलन स्थगितः नेपाल पत्रकार महासंघ सप्तरी
राजविराज । क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै आन्दोलित नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलन स्थगित गरेको छ । पत्रकार महासंघ सप्तरी र सप्तरी सिडिओ भुपेन्द्र थापाबिच आन्दोलनको छठौं दिन मंगलबार वार्ता भएपछि आन्दोलन स्थगित गरिएको हो ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको जस्ताको त्यस्तै, उपरोक्त सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचनाले संविधान विपरित प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम भएको ठहर गर्दे नेपाल पत्रकार महासंघ शाखा सप्तरीले चरणवद्ध आन्दोलनको घोषणा गरि अगाडि बढेको सबैलाई जानकारी नै छ । २०८० साउन २५ गते जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सूचना फिर्ता लिएपनि त्यसलाई त्रुटी स्वीकार नगर्दा हामी आन्दोलनलाई निरन्तरता दिएका थियौं । यसपछि जिल्ला प्रशासन कार्यालयले पटक–पटक वार्ताका निम्ति पत्र पठाएको र ३० गते मंगलबार आयोजित धर्नास्थलमै आएर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले वार्ताका निम्ति अनुरोध गरेपछि विङ्सका नेतृत्वसँग समेत सल्लाह गरेर हामी पत्रकार महासंघका पदाधिकारी र सदस्य वार्तामा बस्यौं ।
वार्तामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना त्रुटिपूर्ण रहेको र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गल्ती भएको भन्दै माफी समेत मागेको जानकारी गराउँदछौं । यस्तै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा यस किसिमका त्रुटी नगर्ने प्रतिबद्धता जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साथै, पत्रकार मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालयम सप्तरीमा २०८० साउन १५ गते घटेको घट्ना सम्बन्धमा प्रचलित कानून अनुसार कारवाही गरी नेपाल पत्रकार महासंघ सप्तरीलाई जानकारी गराउने प्रतिबद्धता जनाएको छ ।
पत्रकार महासंघले उठाएका उक्त दुबै माग वार्ताको माध्यमले प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी प्रमुख नरेन्द्र कार्कीले सम्बोधन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिएको जानकारी गराउँदछौं ।
अन्त्यमा, नेपाल पत्रकार महासंघको आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउने। सम्पूर्ण पत्रकार, सरोकारबालाका साथै ऐक्यवद्धता जनाउने विभिन्न संघ संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौं । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।,
जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सुचना जारी गरेको थियो । त्यसपछि पत्रकार महासंघले प्रेस स्वतन्त्रताको हनन् गर्ने कार्य भएको भन्दै तीन घण्टाभित्र उक्त सुचना फिर्ता लिन भनेको थियो ।
तोकिएको समयमा सुचना फिर्ता नलिएपछि क्षमायाचना सहित सुचना फिर्ता गरि प्रेस स्वतन्त्रता कायम गर्ने मागसहित उनीहरू बिहिबारदेखि आन्दोलनमा उत्रेका थिए । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलसँग भएको कुटपिट घटनमा संलग्न प्रहरीलाई कारबाहीको माग समेत राखेका थिए ।
बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको जनाए । तर यता पत्रकार महासंघले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चिता नभएसम्म संघर्षरत रहने भन्दै आन्दोलनसँगै वार्ता गर्ने निर्णय गरेको थियो ।