लेखापाल टेकनारायण विरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर,तीनै जनालाई पाँच लाख बराबरको बिगो दाबी
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सोलार बति जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख रुपैयाँ बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो । आयोगको टोलीले यादवसँग थप तीन लाख रुपैयाँ बराबरको चेकसमेत बरामद गरेको थियो ।
घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनालाई पाँच लाख बराबरको बिगो दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।