रुपेश यादव,राजविराज। प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व छिन्नमस्ता गाउँपालिकामा पनि विश्व हिन्दु परिषुद् नेपालको सहयोगमा हिन्दु स्वयं सेवक संघ छिन्नमस्ताले मकर संक्रान्ती समरस्ता (खिचडी) उत्सव २०८० मनाएका हुन् ।
आज(सोमवार) छिन्नमस्ता भगवति मन्दिर प्रांगणमा रहेको चौरसिया धर्मशालामा हिन्दुहरुको विशेष उपस्थितिमा तिलखिच्डी ग्रहण गरी भव्यताका साथ सम्पन्न भएको कार्यक्रमका संयोजक तथा हिन्दु स्वयं सेवक संघ छिन्नमस्ताका अध्यक्ष भरत यादवले जानकारी दिएका हुन् ।
सहभागी धर्मशास्त्रविद्हरुका अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्महिन्दुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
त्यसैले माघे संक्रान्तिको दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
कार्यक्रममा प्रमुख अतिथि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौँधरी, वडा अध्यक्ष ललन यादव, विश्व हिन्दु परिषुद् नेपालका केन्दिय सदस्यहरु, हिन्दु स्वयं सेवक संघ छिन्नमस्ताका सदस्यहरु तथा अध्यक्ष भरत यादव, स्थानियका प्रहरी प्रतिनिधि, बुद्धिजिवि तथा हिन्दु्धर्ममा आस्था राख्नेहरुको भव्य उपस्थिति रहेको थियो ।