राजविराज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अदालतदेखि अख्तियारसम्म देशका सबै निकाय ४ जना नेताको हातमा रहेको आरोप लगाएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गर्दै राउतले प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हातमा सबै संयन्त्र रहेको बताए । सबै निकायमा यिनै नेताहरुले राजनीति नियुक्तिका आधारमा नियुक्त भएकाहरु उनीहरुकै कुरा सुन्ने गरेको उनले बताए ।
विकसित देशमा संवैधानिक निकायका न्यायाधीश, निर्वाचन प्रमुख, अख्तियार प्रमुखका निकायमा पदाधिकारी उत्तीर्ण भएर र निर्वाचित भएर आउँछन्’ उनले भने, ‘तर यहाँ राजनीति नियुक्त भइरहेकाले देशमा हुने कान्डका दोषीले सजाय पाउदैँन्न बरु उन्मुक्ति पाउँछन् ।’
राउतका अनुसार अहिलेको अवस्थामा जनमत सरकारमै बस्ने तथा आफै नबाहिरिने बताएका छन् । सरकारमा रहनु पनि आफ्नो अधिकार रहेको बताउदै उनले यद्यपी सरकारमा बस्नैपर्ने सोच आफ्नो पार्टीको नरहेको स्पष्ट पारे ।
देशका शाषकवर्ग १० सिट भएका पार्टीलाई नेतृत्व दिन तयार तर मधेशी पार्टीको बढी सिट भएपनि दिन नमानेको बताए । ‘भित्र भित्रै प्रतिगामी एजेन्डामा सबै मिलेकै हुन्छन्’ उनले भने, ‘मधेश, आदिवासी, थारूसहित पिछडिएकालाई अधिकार दिने पक्षमा छैनन् ।’
अधिकार लिन अब सडकको विकल्प नरहेको भन्दै उनले त्यसको विकल्प नभएको बताए । ‘आन्दोलन नै नगर्ने हो भने अरु विकल्प के ?’ उनले प्रश्न गरे । आन्दोलनका लागि मधेश, थारू, आदिवासी एकजुट हुनुपर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा मधेश प्रदेशका शिक्षा मन्त्री एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ ९ ख० बाट निर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादव, श्रम तथा यातायात मन्त्री चन्दन सिँह अर्थ तथा योजना समिति सभापति प्रदेश सभा सदस्य सतिश कुमार सिंहसमेतको उपस्तिथि थियो ।