रुपेश यादव, सप्तरी । छिन्नमस्ता गाउँपालिका–२ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । महुवा गाउँमै घरभाडा लिई सेवाको प्रवाह गर्दै आइरहेको वडा कार्यालयको आफ्नै भवन निर्माण हुन लागेको वडा अध्यक्ष सिकेन्द्र कु्मार साहले जानकारी दिएका हुन् ।
नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमबिच वडा अध्यक्ष साहले शिलान्यास गरेका छन् । वडा नं २ महुवा देखि मोहनपुर जानेबाटोमा पर्ने घोरदह नदिकै किनारमा रहेको एैलानी जग्गामा वडा कार्यालयको भवन निर्माण हुने भएको छ ।
वडा अध्यक्ष साहले गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । यस वडा कार्यालय भवनको निर्माणको काम असार १५ गतेभित्र इस्टिमेटअनुसार सम्पन्न गर्नेगरी उपभोक्ता समितिसँग सम्झौता भएको छ । २० लाख लागतमा अपाङ्गमैत्री भवन निर्माण हुने भएको छ ।
स्थानीयवासीको मागलाई वेवास्था गर्दै मनोमानी ढंगबाट अनउपयुक्त स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले शिलान्यास कार्यक्रमनै अवरोध गर्न खोजे थिए । वादविवाद बढ्दै जादाँ विवाद नियन्त्रण गर्न प्रहरीले सामान्य बल समेत प्रयोग गर्नुपरेका थिए ।
उपाध्यक्ष राजुदेवि यादव, प्रवक्ता ललन प्रसाद यादव, वडा–४ का अध्यक्ष सूर्यनारायण यादव, वडा–७ का वडा अध्यक्ष अच्छेलाल यादव, वडा–५ का वडा जयप्रकाश ठाकुर, ईलाका प्रहरी, शसस्त्र प्रहरी,, वडाका कर्मचारी र स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत स्थानियको बाक्लो सहभागिता रहेको थियो ।