४ सय ५८ परिवार बाढीपीडितले पाएनन् राहत, ६८ लाख ७० हजार रुपैयाँ पिर्ता
राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका–५ को वडा कार्यालयले बाढी प्रभावितहरुको नाम टुंगो लगाउन नसक्दा ४ सय ५८ परिवारको लागि आएको राहत रकम फिर्ता भएको छ ।
उनीहरूका लागि प्रति परिवार १५ हजार रुपैयाँका दरले राहत रकम ६८ लाख ७० हजार रुपैयाँ प्राप्त भएको थियो । तर वडा कार्यालयले उक्त राहत रकम पाउने परिवारको टुंगो लगाउन नसक्दा फर्ता भएको हो ।
कोसी नदीको किनारमा रहेको यो वडाका बासिन्दा तिलाठी कोईलाडी गाँउपालिकाकै सबैभन्दा बढी बाढी प्रभावित वडा हो । टिकुलिया,बनरझुला लगायतका गाउँ कोसीको पश्चिमी तटबन्धसंगै टाँसिएको छ ।
गत असोज ९ गतेदेखि १२ गतेसम्म अबिरल वर्षाबाट प्रभावित हुन सक्ने परिवारलाई युनिसेफले तिलाठी कोईलाडी गाउपालिकाको कुल ८ वटा वडामध्ये वडा नं. ५ र ४ मा यकिन गरी १५ हजारका दरले प्रतिपरिवार राहत दिन पत्राचार गरेको थियो ।
सोही पत्र बमोजिम तिलाठी कोईलाडी गाउँपालिका(५ मा स्वयंसेवक परिचालन गरी वास्तविक बाढीपीडितको नामावली संकलन गराएको थियो । उक्त वडामा ६ सय ५७ जनाको नाम संकलन भएको थियो । तर वडाभित्रको अति बाढीप्रभावित टिकुलिया र बनरझुलाका पीडितहरुको नाम भने उक्त सुचीमा पूर्णरुपमा समावेश गरिएको थिएन ।
युनिसेफले ४ सय ५८ पीडित परिवारलाई मात्र नगद १५ हजार दिन सक्ने बताए पछि वडाध्यक्ष ललनप्रसाद राउतले भने दिने भए आफ्नो वडाका सबै १ हजार ४ सय ७० घरधुरीलाई नै दिनुपर्ने भन्दै अडान लिएका थिए ।
‘वडाध्यक्षले वडाभित्रका सबै १ हजार ४ सय ७० परिवार लाई नै १५ हजारका दरले दिनुपर्ने बताएपछि त्यो सम्भव थिएन,’ युनिसेफका अशोककुमार झाले भने,‘त्यसकारण तिलाठी कोईलाडी ( ५ मा १५ हजार नगद राहत बितरण गर्ने कार्य गर्न सकिएन ।’
तिलाठी कोईलाडी गाउँपालिका – ५ का वडाध्यक्ष ललनप्रसाद राउतले वास्तविक पीडितहरु ४ सय ५७ भित्रपर्ने अवस्था नदेखिएपछि आफूले ४ सय ५७ परिवारलाई मात्र बितरण गर्ने गरी निर्णय गर्न नसकेको स्वीकारे ।
‘कि त सबै घरधुरी १ हजार ४ सय ७० लाई नै दिनुपर्थ्यो वा सबै वास्तविक पीडितलाई दिन सक्नुपर्थ्यो, थोरैलाई दिएर अपजसको भागी म बन्न चाहिन । त्यसैले उक्त रकम वितरण गर्ने अनुमति दिन सकिएन,’ वडाध्यक्ष राउतले भने । उनले भने, ‘४ सय ५७ नै टुंगो लगाउन मैले २४ घण्टा समय मागे, युनिसेफले सो समय पनि नदिएपछि मैले केही गर्न सकिन ।’
यता वडा कार्यालय र गाउँपालिकाको अक्रमन्यताका कारण बाढीपीडित परिवारलाई बितरण गर्न आएको ६८ लाख ७० हजार रुपैयाँ पिर्ता गएको भन्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् ।
स्रोत ः सप्तरीबाट अवधेशकुमार झाले कान्तिपुरमा लेखेको समाचार हुबहु ।