रुपेश यादव, सप्तरी । तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ आजबाट विधिवत् रूपमा सुरु भएको छ । श्रद्धाभाव र निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुहरुको भीडले सप्तरी जिल्लाको बजारमा रौनकता थपिएको छ । सप्तरीबाट रुपेश यादवको रिपोर्ट ।
सप्तरीमा छठ पर्वका लागि बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । राजविराज, हनुमाननगर, कोशी व्यारेज, रुपनी, बरसाईन, कुनौली भंसार नाका नजिक रहेको भारतीय बजारका साथै स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो ।
तराईमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ । छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम सुरु भइसकेको छ ।
छठ पर्वको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ । व्रतालुले भोजनमा आजदेखि सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ । छठ पर्वको आज नेहाय खाय अर्थात नुहाएर खाने विधिबाट सुरु भएको छ । भोलि खरना अर्थात सख्खरमा पकाएको अरवा चामलको खिर खाने दिन र पर्सि विहिवार अस्ताउँदो सूर्यलाई र शुक्रवार उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत् रूपमा सम्पन्न हुनेछ ।