नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा एमालेले देशभित्र र बाहिरका विभिन्न पार्टीहरूलाई महाधिवेशनका लागि बोलाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले भने एमाले महाधिवेशनमा भिडिओ सन्देश पठाउने भएको छ । भारत, बंगलादेश, श्रीलंकालगायत विभिन्न देशबाट भने विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै नेताहरू आउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज एमाले महाधिवेशन सम्बोधन गर्न चितवन जाने भएका छन् । उनी हेलिकप्टरबाट चितवन जाने कार्यक्रम छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने भएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र चितवन हो । चितवनमा एमालेले महाधिवेशन गरेकोमा प्रचण्ड असन्तुष्ट छन् ।
साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न जाने भएका छन् । अध्यक्ष ठाकुर बिहीबार नै चितवन पुगिसकेका छन् ।
महाधिवेशनका लागि एमाले अध्यक्ष ओलीसहित एमालेका सबै नेताहरू चितवन पुगिसकेका छन् । आज महाधिवेशन उद्घाटन गर्ने र शनिबारदेखि सौराहमा बन्द सत्र तथा उम्मेदवारी मनोनयनलगायतका कामहरू हुनेछन् ।