१८ चैत, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता कार्यतालिका बमोजिम भएको हो ।
त्यस्तै, भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको कार्यालय पुगेका छन् । मुलुकको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएका देउवाले विपक्षी दलका नेतासँग भेटघाट गर्ने कार्यसूचीसमेत छैन । तर सत्तारुढ भाजपाको भने पार्टी कार्यालय पुगेपछि दुवै देशको कूटनीतिक वृत्तमा तरंग पैदा भएको छ ।
प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।