३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम नजिता आउनेक्रम करिब अब अन्तिम चरणमा पुगेको छ।
काठमाडौं महानगरसहित केही स्थानीय तहमा मतपरिणाम आउन बाँकी छ। त्यस्तै, बाजुराको बुढीगंगा गाउँपालिकामा पुनः मतदान गर्ने कि मतगणना गर्ने बारे निर्णय हुन सकेको छैन।
अन्य ७ स्थानीय तहमा भने गणना भइरहेको छ। गणना भइरहेको विवरण आउनेक्रम जारी रहेको छ। हालसम्म नेपाली कांग्रेस पहिलो दल बनेका हुन् ।
त्यस्तै एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ। जनता समाजवादी चौथो दल बन्दा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पाँचौ स्थानमा छन् ।
उनीहरूपछि महन्थ ठाकुर नेतृत्वको लोसपा र राप्रपा रहेका छन् । यो वर्ष स्वतन्त्र र केही नयाँ राजनीतिक दलहरूले पनि पालिकामा जित हात पारेका छन्।
रेशम चौधरीको, रमेश खरेलको र सिके राउतको पार्टीले पनि स्थानीय तहमा पालिका जित्दै आफ्नो उपस्थिति देखाएका छन् ।
अहिलेसम्म सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय २५ स्थानीय तहको प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा २ सय ९७ तहमा जित निकाल्दै तीन स्थानमा अग्रता लिएको छ।
नेकपा एमालेले प्रमुखमा २ सय ४ र उपप्रमुखमा २ सय ३६ मा जित हात पारेको छ। माओवादी केन्द्रले १ सय २२ स्थानको प्रमुखमा जित निकाल्दा १ सय २८ स्थानमा उपप्रमुख निर्वाचित भएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टीले ३० स्थानमा प्रमुख र ३१ स्थानमा उपप्रमुखमा जित हात पारेका छन् । एकीकृत समाजवादीले २० स्थानमा प्रमुख जितेको छ।
त्यस्तै लोसपाले १६ स्थानमा प्रमुख जितेको छ। त्यसैगरी राप्रपाले ४ पालिकामा प्रमुख जितेको छ। स्वतन्त्र लगायत साना दलहरुले ३० स्थानमा प्रमुखमा जितेका छन्।
बाँकी स्थानीय तह
१. उदयपुर–त्रियुगा नगरपालिका,
२. रौतहट–गरुडा नगरपालिका,
३. रौतहट–फतुवा विजयपुर नगरपालिका,
४. काठमाडौं महानगरपालिका,
५. दाङ–तुल्सीपुर उपमहानगरपालिका,
६. कपिलवस्तु–महाराजगन्ज नगरपालिका,
७. रुपन्देही–तिलोत्तमा नगरपालिका,
८. बाजुरा–बुढीगंगा नगरपालिका,